Section 32
बैंक वा वित्तीय संस्थाको नाम प्रयोग
(१) कसैले पनि राष्ट्र बैंकको स्वीकृति नलिई बंैकिङ्ग तथा वित्तीय कारोबार गर्ने प्रयोजनको लागि बैंक वा वित्तीय संस्थाको नाम प्रयोग गर्नु हुँदैन ।
(२) यस ऐनको दफा ४९ बमोजिमको बैंकिङ्ग तथा वित्तीय कारोबार गर्न इजाजतपत्र पाएको बैंक वा वित्तीय संस्था र नेपालमा शाखा कार्यालय खोल्ने विदेशी बैंक वा वित्तीय संस्था बाहेक अन्य कुनै पनि व्यक्ति, कम्पनी वा संस्थाले राष्ट्र बैंकबाट पूर्व स्वीकृति नलिई आफ्नो नामसँग ‘बैंक’, ‘बैंकिङ्ग’, वित्त, वित्तीय वा अन्य त्यस्तै अर्थ आउने संकेत, विशेषण वा त्यस्तै किसिमका अर्थ लाग्ने शब्द प्रयोग गर्न पाउने छैन ।
(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायको संस्थाको हकमा उपदफा (२) मा उल्लिखित व्यवस्था लागू हुने छैनः–
(क) प्रचलित कानून वा अन्तर्राष्ट्रिय सम्झौता वा प्रचलन बमोजिम स्थापित वा मान्यता प्राप्त कुनै संस्था,
(ख) प्रचलित कानून बमोजिम संस्थापना भएको छ महिनाभित्र बैंकिङ्ग तथा वित्तीय कारोबार गर्न इजाजतपत्रका लागि निवेदन दिने कम्पनी ।
(४) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि यो ऐन प्रारम्भ हुँदाका बखत प्रचलित कानून बमोजिम वित्तीय कारोबार गर्न स्वीकृति प्राप्त गरेको कुनै बैंक वा वित्तीय संस्थाले त्यस्तो कारोबार गर्न स्वीकृति प्राप्त गर्दाका बखत कायम रहेको नाम प्रयोग गरी वित्तीय कारोबार गर्न सक्नेछ ।
(५) “ख”, “ग” तथा “घ” वर्गको वित्तीय संस्थाले क्रमशः विकास बैंक, वित्त कम्पनी तथा लघु वित्त वित्तीय संस्था भन्ने नाम प्रयोग गर्नु पर्नेछ ।
(६) यो ऐन प्रारम्भ हुनु अघि लघु वित्त विकास बैंक भन्ने नाम प्रयोग गर्ने इजाजतपत्र प्राप्त संस्थाले यो ऐन प्रारम्भ भएपछि उपदफा (५) बमोजिमको नाम प्रयोग गर्नु पर्नेछ ।